काठमाडौं। पूर्वी जाजरकोट एवं डोल्पामा ३३ केभीको विद्युत प्रसारणलाइन पुर्याउन नलगाड नगरपालिकाको चौखामा सबस्टेसन निर्माण कार्य सुरु गरिएको छ । चारवटा सबस्टेसन निर्माण हुनेमध्ये चौखा पनि एक हो ।
मध्य तथा तल्लो डोल्पामा विद्युत आपूर्ति गर्न सबस्टेसन निर्माण कार्यलाई तीव्रता दिइएको नेपाल विद्युत प्राद्यिकरण जाजरकोट शाखाले जनाएको छ । वाइवा कन्स्ट्रक्सन काठमाडौंले चौखा सबस्टेसन निर्माणको जिम्मेवारी लिएको छ । एक वर्षभित्र काम पूरा गर्ने उद्देश्यका साथ काम भइरहेको जाजरकोट शाखाले बताएको छ ।
त्यस्तै कुशे गाउँपालिकाको समाइलामा सबस्टेसन निर्माण गर्न जग्गा अधिग्रहणको काम सुरु भएको छ । पश्चिम जाजरकोटमा विद्युतीकरण गर्नका लागि सबस्टेसनको ठेक्का भइसकेको नेपाल विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ । जिल्लामा चारवटा सबस्टेसनमध्ये कुदुमा निर्माण भएको चालू अवस्थामा छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत आएलगत्तै कामले गति लिएको छ । विद्युत प्रसारणलाइन निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ ।
सबस्टेसनमा विद्युत सेवा पु¥याउनका लागि ठाउँठाउँमा काम भइरहेको प्राधिकरणले जनाएको छ । केही निर्माण व्यवसायीले अझै काम सुरु नगरेको कार्यालयको भनाइ छ । तीन वर्षअघि निर्माण हुनुपर्ने काम जाजरकोटमा बल्लसुरु भएको छ । शक्ति केन्द्रको भरमा ठेक्काको काम नगर्दा जाजरकोटमा विद्युतीकरण गर्ने काम ढिला हुँदै आएको हो । कारोबार दैनिकबाट