काठमाडौं । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन धुर्मुस सुन्तली फाउण्डेशनलाई १७ करोडमाथिको ऋण लागेको फाउण्डेशनका अध्यक्ष टिकाराम कट्टेल (धुर्मुस) ले बताएका छन् । धुर्मुसले भिडियो जारी गर्दै आफूहरु ऋणमा रहेको र सहयोगको आवश्यकता रहेको बताएका हुन्।
उनले भिडियोमार्फत भनेका छन्, ‘विषम परिस्थितिमा बनाउनु पर्छ बन्नु पर्छ भनेर अघि बढेका थियौं। तर बिडम्बना भन्नु पर्छ विगत ४ महिना यता निर्माण रोकिएको छ । कोभिडको महामारी र लकडाउन चाडवाडमा पनि बिचलिन नभई काम गर्यौं। तोकिएको समयमा रंगशाला बनाउनु पर्छ भनेर लागि परि रह्यौं।’
उनले १७ करोडमाथि ऋणको भारी बोकेर आफूहरु हिँडिरहेको बताएका छन् । उनले आफूलाई दैनिक ऋण तिर्नुपर्ने ठाउँबाट फोन आइरहने भन्दै दुख व्यक्त गरेका छन् ।
उनले पछिल्लो समय आफूहरुले धेरै आलोचना खेपेपनि त्यसलाई सुझावका रुपमा लिएको बताएका छन्। यद्यपि, फाउण्डेशनले कार्यविधि बनाएर काम गरिरहेको उनले दाबी गरे।
उनले सरकारलाई परियोजना निर्माणका लागि अभिभावकत्व लिन पनि आग्रह गरेका छन्। उनले सरकारको उपस्थितिमै परियोजनाको घोषणा गरेकाले रंगशाला निर्माण हुनु राष्ट्रको धरोहर निर्माण हुनु बताए। यद्यपि, आफूहरु परियोजनाबाट टाढा हुन खोजेको भने नभएको उनको भनाइ छ ।