काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता जनाएका छन्।
आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ।
नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गतेको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो।
सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो। विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो।