काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मागबमोजिम निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको बताएकी छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल को साधारणसभामा मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताएकी हुन् ।
यसका लागि उनले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न सक्ने विश्वासिलो आधारसहित आउन आग्रह गरेकी छन् ।
उनले अहिले नेपाल विद्युत् प्राधिकरणले मात्र गरिरहेको विद्युत् व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरू उठिरहेको भन्दैयस सम्बन्धमा आफूले अस्ति मात्र इपानका प्रतिनिधिहरूसँगको भेटमा विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरू नभएको भए पनि यदि निजी क्षेत्रले हामी यो परिमाणको विद्युत् यसरी बिक्री गर्न सक्छौँ भन्ने आधारसहित आएमा संस्थागत अथवा व्यक्तिगत आए पनि अनुमति दिन आफूहरु तयार रहेको बताइन् ।
मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत् खेर गइरहेको बताइन्।