पर्सा । वीरगन्जसँग जोड्ने मुख्य सडकको तिलावे खोलाको पुल निर्माण शुरु भएको ६ वर्षमा भौतिक प्रगति ६७ प्रतिशत मात्र छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने तिलावे खोलाको पुल पटक पटक म्याद थप्दा पनि निर्माण ६७ प्रतिशत मात्र पूरा भएको हो ।
विगत लामो समयदेखि यहाँ नयाँ पुल नबनेकै कारण बिहान र साँझको समयमा घन्टौँ ट्राफिक जाम हुने गरेको छ। ग्रामीण भेगबाट दैनिक हजारौँको संख्यामा सर्वसाधारण वीरगन्जका उद्योग, व्यापारिक प्रतिष्ठान र भौतिक पूर्वाधार निर्माणलगायतका कार्यमा आउँछन्। पुरानो पुल जीर्ण भएको र नयाँ पुलसमेत नबन्दा ग्रामीण क्षेत्रबाट दैनिक वीरगन्ज आवतजावत गर्नेहरू समस्यामा परेका छन् ।
पटकपटक नयाँ पुल निर्माणकार्य समयमै बनाउन पत्राचार भए पनि ठेकेदार कम्पनीले वास्ता नगरेको अर्का स्थानीयको भनाइ छ ।
पुल निर्माणका लागि ०७२ जेठ २५ मा पप्पु\लुम्बिनी जेभीले सात करोड ७१ लाख रुपैयाँमा तीन वर्षमा बनाउने गरी ठेक्का सकार गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जको पहिलो कार्यादेशअनुसार उक्त पुल ०७५ जेठ २४ सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने हो।
पटकपटक थपिएको ठेक्काको पछिल्लो म्याद ०७८ भदौ ६ मा सकिएको छ। तर, हालसम्मको भौतिक प्रगति ६७ प्रतिशत मात्र रहेको योजना कार्यालयले जनाएको छ । पछिल्लो ६ महिनादेखि पुल निर्माणको काम ठप्प छ।