काठमाडौं। निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह विगत एक डेढ वर्षको अवधिमा निर्माण क्षेत्रको गतिविधिमा अत्याधिक कमी आएको बताएका छन्।
विगत एक डेढ वर्षमा भएको अत्यधिक मूल्यवृद्धि र कोभिड महामारीको प्रभावले निर्माणका गतिविधिमा ७० प्रतिशतसम्म कमी आएको दाबी गरेका हुन्।
उनले भने, ‘दुई वर्षसम्म हाम्रो कामहरू केही पनि हुन पाएन जसले व्यवसाय सञ्चालन खर्च धान्दा मात्रै हाम्रो पुँजी सकियो। ब्याङ्कमा आएका नीति परिवर्तनले एलसीहरू खोल्न र ऋणहरू लिन सहज भएन र हामीले माग सिर्जना गर्न सकेनौँ।’
गत वर्षको निर्वाचनका कारण र लामो समय क्रसर बन्द हुँदा पनि निर्माण क्षेत्रमा असर पुगेको सिंह बताउँछन्। कोभिडको समयमा पूरा हुन नसकेका आयोजनाहरूलाई सरकारले चार महिनामा ३० प्रतिशत काम सक्ने सर्तमा म्याद थप गरेको थियो। तर त्यो समयमा क्रसर उत्खनन बन्द रहेका कारण आफूहरूले लक्षित काम गर्न नसकेको र सरकारबाट भुक्तानी नपाएको निर्माण व्यवसायीहरू बताउँछन्।
महासङ्घका अध्यक्ष सिंहका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारहरूले निजी निर्माण व्यवसायीहरूलाई तिर्नुपर्ने दायित्व एक खर्ब भन्दा बढी भइसकेको छ।
नेपालको अर्थतन्त्रमा ८ खर्ब ओगटेको निर्माण क्षेत्र पछिल्ला चौमासिकहरूमा ऋणात्मक देखिएको मध्ये प्रमुख क्षेत्र हो। निर्माणका गतिविधि घट्नु भनेको यो क्षेत्रबाट निजी क्षेत्र र राज्य दुवैलाई हुने आम्दानी पनि घट्नु हो।
स्रोत: बिबिसि नेपाली