काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरमको सभापतिमा जलविद्युत प्रवर्द्धक शैलेन्द्र गुरागाईं मनोनयन भएका छन् । कार्यकारिणीय सदस्य समेत रहेका गुरागाईंलाई महासंघले पुँजी बजार फोरमको सभापतिमा मनोनयन गरेको हो ।
महासंघको गत बैशाख ३ गतेको पहिलो कार्यकारिणी समितिको बैठकले गरेको निर्णय बमोजिम अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पुँजी बजार फोरमको सभापतिमा मनोनयन गरेका हुन् । ढकालले बुधबार गुरागाईंलाई पुँजी बजार फोरम सभापतिमा मनोनयन गरेको पत्र प्रदान गरेका छन् ।
गुरागाईंलाई मनोनयन गर्दै ढकालले उनको सभापतित्वमा गठित पुँजी बजार फोरमले जिम्मेवारीपूर्वक काम गर्नेमा विस्वस्त रहेको बताए । ढकालले गुरागाईंले नेतृत्व गरेको फोरमले गर्ने कार्यको अर्धवार्षिक रूपमा पुनरावलोकन गर्ने पनि जानकारी दिए।
गुरागाईं महासंघको हालै सम्पन्न महाधिवेशनबाट कार्यकारिणी समितिको सदस्यमा निर्वाचित भएका थिए । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का निर्वतमान अध्यक्ष पनि हुन् ।