तस्बिर: गाेरखापत्र
म्याग्दी। म्याग्दीका सामुदायिक वनमा १६ वटा पोखरी निर्माण भइसकेका छन्। वन्यजन्तु र चराचुरुङ्गीहरुलाई खानेपानीको व्यवस्थापन गर्नका लागि वनमा पोखरी निर्माण गरिएको हो।
दुई आर्थिक वर्षमा गरेर डिभिजन वन कार्यालयले १६ वटा पोखरी निर्माण गरेको छ। पोखरी निर्माण भएपछि वनजङ्गलका जनावर र चराचुरुङ्गीहरुका लागि पानी खान सहज हुने अपेक्षा छ । साथै पोखरी निर्माण भएपछि जङ्गलमा लागेको आगलागी नियन्त्रणमा समेत सहयोग पुगेको बताइन्छ।
अघिल्लो आर्थिक वर्षमा १० र चालु आर्थिक वर्षमा ६ गरी १६ वटा सामुदायिक वनमा वन्यजन्तुका लागि जङ्गलभित्र पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ।
पोखरीमा नजिकमा रहेको पानीको स्रोतबाट पानी ल्याएर पोखरी भरिएको छ । वनजङ्गलमा रहेका वन्यजन्तुहरु पानीको खोजीमा मानव वस्तीमा नआउन भनेर जङ्गलभित्र पोखरी निर्माण गरेको कार्यालयले जनाएको छ।