जानकी। बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहमा निर्माणाधीन एकीकृत जाँच चौकीको निर्माणको काम अन्तिम चरणकमा पुगेको छ। उक्त निर्माणधीन एकीकृत जाँच चौकी अबको डेढ महिनाभित्र पूरा हुने भएको हो।
यही मे महिनाभित्रमा सम्पन्न गर्ने सम्झौता भए पनि यसको निर्माणको काम भने अबको डेढ महिनाभित्र पूरा हुने भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराएको बताइएको छ। एकीकृत जाँच चौकीको करिब ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताइएको छ।
एकीकृत जाँच चौकी निर्माणका लागि जग्गा नेपालले उपलब्ध गराएको हो, यसको निर्माणको जिम्मेवारी भने नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले लिएको छ, लगानी, प्राविधिक पाटो र निर्माण व्यवसायी भारतले नै छनोट गरेको हो, नेपालमा बन्न लागेकाले निर्माणको अवस्थाबारे जानकारी मात्रै लिने गरेको कार्यालय प्रमुखहरुको भनाइ छ।
दुवैतर्फको निर्माण कार्य भने अढाइ वर्षअघि मात्रै सुरु भएको हो । उक्त एकीकृत जाँच चौकीभित्र वेयरहाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर, रेस्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण कार्य भइरहेको बताइएको छ।