काठमाडौं। कोराना महामारीका कारण झण्डै २० महिना सिनेमा हल बन्द भएका कारण सिनेकर्मी बेरोजगार भए भने निर्माताहरूको करोडौं लगानी पनि डुबेको छ। त्यसै कारणले गर्दा केही सिनेमा घरहरु पनि भत्काइएका छन।
भत्काइएकामध्ये बौद्धमा अवस्थित रहेको सिद्धार्थ सिनेमा हल पनि रहेको छ। दुई रोपनी जग्गा भाडामा लिएर २९ वर्षअघि गोपालकाजी कायस्थले सञ्चालनमा ल्याएको सिनेमा मन्दिर हाल भत्काइएको छ। साथैकोटेश्वरस्थित पुष्पाञ्जली हल पनि भत्काइएको छ। हलवालाहरूको छाता संगठन नेपाल चलचित्र संघका अनुसार कोभिडपछि देशभरका २८ वटा सिनेमा घर भत्काइएका छन्। काठमाडौंभित्रका पुराना सिने मन्दिर जय नेपाल, कुमारी सधैंका लागि बन्द भएका छन। जय नेपाल नेपालकै जेठो सिनेमा घर भएको भएता पनि हाल त्यसको इतिहास नै नरहने गरी भत्काइएको छ त्यस्तै विगतमा ७ वटा हल भएको गोपीकृष्णका ७ मध्ये ४ वटा घर भत्काइएको छ।
उपत्यकाका ९ वटा र उपत्यकाबाहिरका १९ वटा गरी २८ वटा सिने घर भत्काइएको संघले जनाएको छ। पुराना सिनेमा घरहरू भत्काइने क्रम चलिरहँदा कीर्तिपुरमा नयाँ फिल्म हल सञ्चालनमा ल्याएको छ। फिल्मकर्मी नरेन्द्र महर्जनको २० करोड लगानीमा कीर्तिपुरको पाँगामा एक सोमा २८५ दर्शकले हेर्न मिल्ने गरी ‘कीर्तिपुर सिनेप्लेक्स’ सञ्चालन हुने भएको छ।
त्यस्तै बानेश्वर शंखमूलमा चलचित्रकर्मी दीपकराज गिरी र दीपाश्री निरौलाले ९ करोड लगानीमा नयाँ सिनेमा हल निर्माण गर्दै छन्। सो सिनेमा हल वैशाखभित्रैबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको दीपकराज गिरीले जानकारी गराएका छन।