काठमाडौं। पशुपति आर्यघाटमा थप ४ वटा विद्युतीय शवदाह गृहको व्यवस्था गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शवदाह गृहको व्यवस्था गर्ने निर्णय गरेको हो।
शवदाह गृह थप गरी दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था समेत गरिने भएको छ।
कोषले कार्यविधि निर्माण गरेपछि कोष सञ्चालक परिषद्ले उक्त कार्यविधि पारित गर्ने छ । यसका लागि केही समय लाग्ने बताइएको छ। पशुपतिमा रहेका दुई वटा विद्युतीय शवदाह गृहमध्ये एउटाको यन्त्र बिग्रिएको छ । हाल एउटा शवदाह गृह मात्र सञ्चालनमा रहेको छ।
सोही स्थानमा थप चार विद्युतीय शवदाह गृह निर्माण गरी घाटमा आउने सबै शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने तयारी गरिएको पशुपति विकास कोषले जनाएको छ । पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शवदाह गृहमा रु चार हजार शुल्क तोकिएको छ ।