स्याङ्जा । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले किरातेश्वर कन्स्ट्रक्सन ब्रिलिङ कम्पनी प्रालि सुकेधारा काठमाडौंलाई दैनिक ३२ हजार ४९२ रुपियाँ ४७ पैसा जरिवाना गर्ने भएको छ ।
निर्माण कम्पनीले गाउँपालिकाको प्रशासकीय भवन समयमै निर्माण नगरेपछि पालिकाको वैशाख १३ गतेको कार्यपालिका बैठकको निर्णय र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२१ बमोजिम जेठ १ गतेबाट लागु हुने गरी जरिवाना गर्न लागेको हो ।
२०७७ पुस १५ गते १५ महिनामा काम सक्ने गरी सम्झौतामा गरेकोमा थप १५ महिनामा समेत भवन निर्माण नभएपछि जरिवाना गरिएको हो ।
प्रशासकीय भवन निर्माणको जम्मा लागत सात करोड ४१ लाख ५८ हजार ३८७ रुपियाँ ९० पैसाको ०.०५ प्रतिशत दैनिक जरिवाना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत उत्वल बहादुर बस्नेतले बताए।
भवन निर्माणको सबै काम सक्न अझै १५ दिन लाग्ने बताउँदै इन्जिनियर सन्दिप बोगटीले भवन हस्तान्तरण नगर्ने समयसम्म जरिवाना हुने बताए ।
साढे चार तला, एक हलसहित ३२ कोठा रहेको भवनमा पालिकाले दिएको वैशाख ३१ गतेसम्म हलको छाना छाउन र झ्यालको ग्रिललगायतका काम हुन बाँकी छ । मूल्य समायोजन गरेर ३२ लाख रुपियाँ थप भुक्तानी लगेको निर्माण कम्पनीले थप १५ महिनामा निर्माणमा नसकेको हो ।
पालिका भवन ३० रोपनी जग्गा नेपाल सरकारबाट ३० वर्षका लागि भाँडामा लिएर निर्माण गरिएको हो । कोभिडका कारण भवन निर्माणमा ढिलाइ भएको बताउँदै निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्र चापागाईंले कार्यपालिकाको निर्णय र भवन निर्माण ऐन भित्र रहेर तोकेको जरिवना तिर्ने बताए । गोरखापत्रबाट