काठमाडौं। सांसद दिपक गिरीले विकास निर्माणका काममा देखिएका विथिती अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद गिरीले सांसद सञ्जय गौतम १५ सूत्रीय माग राखेर बर्दियाको जब्दी पुलमुनि आमरण अनशन बसेको भन्दै विकास निर्माणका बेथिती अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले दशव्यापीरुपमा विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
त्यसैगरी प्रतिनिधिसभा बैठकमा सांसद दिक्पाल शाहीले गत वेशाख २७ गते दैलेखको एक सामुदायिक वनमा भएको आगलागीमा परी भएको जनधनको क्षतिप्रति सदन र सरकारको ध्यानाकर्षण गराए । सो घटनामा परी घाइते भएकाको निःशुल्क उपचारको प्रबन्ध गर्न उनले माग गरे ।
सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणका सन्दर्भमा सदनकोतर्फबाट सभामुखले रुलिङ गरिसकेको भए पनि सरकारले हालसम्म जानकारी नदिएकामा गुनासो गरे ।
सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय र रत्नराज्यलक्ष्मी क्याम्पसका कारण पाँच सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाँड भएको बताए । विद्यार्थीले पाउनुपर्ने सामान्य सुविधासमेत नपाएको उल्लेख गर्दै उनले सो प्रकरणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।