बैतडी। प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले दुई वर्षसम्म मजदुरलाई ज्याला नदिने निर्माण व्यवसायीको कठालो समाएका छन्।
अदालतको भवन निर्माण गरेका निर्माण व्यवसायी वसन्त साउद र सुरेश भुलले दुई वर्षसम्म मजदुरको ज्याला नदिएपछि सिडिओले कठालो समाएर एक लाख ज्याला असुल गरेका हुन्।
दशरथचन्द नगरपालिका–४ का मुक्त हलिया परिवारका महिला विष्ना भुल र पार्वती भुलले दुई वर्षसम्म ज्याला नदिएको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारीले उक्त समस्याको समाधान गरिदिएका छन्।
दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका ती महिला छुट मुक्त हलिया हुन् । हलिया मुक्तिको घोषणा भए पनि रोजगारी नहुँदा मुक्त हलियाका महिला सडकमा गिट्टी कुट्ने र दैनिक ज्याला मजदुरीको काम गर्दै आइरहेका छन् ।
भवन बनाइसके पनि ठेकेदारले दुई वर्षसम्म काम गरेको ज्याला नदिँदा महिला मजदुरले सिडिओलाई गुहारेका थिए। पीडित महिलाको गुनासो सुनेपछि ठेकेदारलाई प्रशासनमा बोलाएर रकम असुल गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। स्रोत: गोरखापत्र