काठमाडौं। उद्योगमन्त्री रमेश रिजालले सरकार लगानीमैत्री औद्योगिक वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन्। नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको मेक इन नेपाल सम्मेलनको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्।
उनले लगानीमैत्री औद्योगिक वातावरणको निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक स्रोतको सदुपयोगको लागि आवश्यक वारावतरण बताउनका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक भएको बताउँदै औद्योगिकरणको उचित विकास विना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नहुने उनको भनाइ छ।
स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन एवं निर्यात बढाउन गरिनुपर्ने नीतिगत तथा व्यावहारिक पक्षका सम्बन्धमा सम्मेलनबाट आउने सुझाबलाई ग्रहण गर्ने समेत मन्त्री रिजालले बताए।