काठमाडौं। दाङको तुलसीपुरमा महिला कारागार बन्ने भएको छ। महिला कैदी बन्दीका लागि सुविधा सम्पन्न कारागार बनाउने गरी शिलान्यास पनि गरिएको छ। २०८० भदौ २ गते निर्माण कार्य सम्पन्न गर्ने गरी प्रशंसा कन्स्ट्रक्सन कैलालीले ३ करोड २९ लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरिएको छ। २०७८ साउन २५ गते सम्झौता गरिएकोमा बुधबार भवनको शिलान्यास भएको हो।
२ सय २५ जना क्षमता रहेको तुलसीपुर कारागारमा हाल ४ सय ९८ जना कैदी बन्दी बस्दै आएका छन्। जसमध्ये ४ सय ६६ पुरुष, २९ महिला र ३ जना नाबालिका रहेको कारागार प्रशासनले जानकारी गराएको छ। २ वटा कारागार भवन रहेको तुलसीपुरमा महिला कारागार छुट्टै बने पछि कारागार भवन ३ पुग्ने भएको छ। २० कोठाको सुविधा सम्पन्न भवनभित्र पुस्तकालय, वर्कसप तथा सिप विकास कक्ष, मनोरञ्जन कक्षका साथै ८२ महिला बेड निर्माण गर्ने योजना रहेको छ।
तुलसीपुरका प्रमुख जिल्ला अधिकारीले समयमै काम सम्पन्न गरेर इमान्दारिता देखाउन निर्माण व्यवसायीलाई आग्रह गरेका छन्। त्यस्तै बुधबार तुलसीपुरमा महिला कारागार भवनको शिलान्यास गर्दै उनले एकाध निर्माण व्यवसायीले समयमै निर्माण कार्य सम्पन्न नगरेका कारण अन्य निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण जनमानसमा फरक रहेको बताउँदै समयमा काम गर्न निर्देशन दिएका थिए। उनले तोकेको समय अगावै भवनको निर्माण कार्य सम्पन्न गरेमा पुरस्कृत गर्ने र ढिलासुस्ती गरेमा दण्डित गर्ने चेतावनी समेत दिएका छन्।