बझाङ। कात्तिक १ गते देखि ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले जिल्लाको खप्तड छान्ना गाउँपालिका १ खातीगाउँमा रहेको विद्यालय बगाएपछि हाल खुल्ला रुपमा पठनपाठन सुरु भएको छ। खतीगाउँमा रहेको जगदम्बा निमाबीको आठ कोठे पक्की भवन जडारीगाडमा आएको बाढीले बगाएपछि विद्यार्थीहरुलाई खुल्ला चौरमा राखेर पठनपाठन सुरु गरिएको हो।
बाढीपहिरो आएको महिना दिन बितिसक्दा पनि सरोकारवाला निकायले ध्यान नदिदाँ विद्यार्थीहरुलाई खुल्ला चौरमा पढाउन सुरु गरीएको हो। विद्यालय भवन निर्माणका लागी विभिन्न निकायमा पहल गरेको भए पनि कुनै पनि ठाउँबाट सुनुवाई नभएको विद्यालयका प्रधानाध्यापक लालबहादुर खत्रीले जानकारी गराएका छन्। बाढीले स्कुल बगाएपछि विभिन्न ठाउँमा निवेदन दिदाँ पनि अहिलेसम्म कुनै पनि निकायबाट कुनै आश्वासन र सहानुभूति नपाएको उनको गुनासो रहेको छ।
विद्यालय भएको ठाउँबाट झण्डै एक किलो मिटर टाढा रहेको जडारीडाडले यसरी वितण्डा मच्चाए आउँछ भन्ने परिकल्पना नगरेका स्थानीयहरुले हाल सामान्यरुपमा आकाशमा बादल लाग्दा समेत विद्यालय बन्द गरेर घर पठाउनु पर्ने बाँध्यता रहेको बताएका छन्। १६० जना विद्यार्थी संख्या रहेको सो विद्यालयका शौचालयसहित ८ वटा कोठाहरु बगेर बगर बनाएपछि विद्यार्थीको पठनपाठनमा अवरोध पुगेको हो। विद्यालयलाई स्थानान्तरण गरेर भौतिक पूर्वाधार सबै निर्माण गर्नु पर्ने अवस्था आएपछि विद्यालयको पढाई भने नियमितरुपमा अवरुद्ध हुँदै आएको छ।
चिसोयाम सुरु भएसँगै घाम लागेका बेला स्कुलमा नियमित पढाई हुने भए पनि घाम अस्ताएपछि भने चिसो हुने भएका कारण विद्यार्थी समेत बाहिर बस्न नमान्ने स्थिति आएको अभिभावकहरुको भनाई छ। बाढी आएको यत्रो समय बितिसक्दा पनि राहत तथा विद्यालय भवन स्थानान्तरणका लागी हाल सम्म बाढीपछि निकै शोकमा डुबेको खातीगाउँ बस्ती आफ्नो लयमा फर्कन अझैँ समय लाग्ने भएको छ। त्यहाँका किसानहरुका लागि गँहुबाली लगाउने समयमा खेती योग्य जमिन बगाएर लगेपछि बगर हेरेर टोलाएर बस्नुपर्ने बाँध्यता रहेको छ। बाढीले घर अगाडिको जिउलो बगर बनाएपछि त्यहाँका झण्डै एक सय भन्दा बढी परिवारको विचल्ली भएको छन्।