काठमाडौं। अर्थ मन्त्री डा.प्रकाशशरण महत रमिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ।
उपाध्यक्ष ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री महतसँग भेटवार्ता गरेको हो।
भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको छ। एमसिसि सम्झौता कार्यान्वयनमा जाने मिति नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ बर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसीसीका पदाधिकारीले भ्रमण गरेका हुन्।
भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रकृया जस्ता पूर्वतयारीका काममा भएको प्रगति प्रति सन्तोष व्यक्त गरे । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भै सक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षवीच विस्तृत छलफल भएको छ।
भेटमा अर्थमन्त्री डा.महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भै नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुका साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रकृया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धता जनाए ।