पृथ्वी राजमार्गमा पर्ने चितवन जिल्लाको इच्छाकामना गाउँपालीकाको कार्यलयले रातको समयमा हुने दुर्घटनालाई कम गर्नको लागि सडकमा सौर्य बत्ती जडान गर्ने भएको छ । रातीको समयमा त्यस क्षेत्रमा बढी दुर्घटना हुने भएकोले त्यसकुरालाई मध्यनजर गरी सडक नजिक बत्ती जडान गर्ने निर्णय गरेको हो । उक्त बत्ती जडान गरे पश्चात रातको समयमा पैदल यात्रा गर्ने यात्रुहरुलाई पनि सहज हुने छ ।
त्यस्तै सडकमा रातको समयमा बत्ती बाल्दा विभिन्न आपराधिक घटनाहरु पनि कम हुने हुँदा स्थानीयहरुलाई पनि सुरक्षाको अनुभुति हुन्छ । त्यसैले उक्त कार्यको लागि गाउँपालीकाले आर्थिक वर्ष २०७८/७९ मा करिब रु.६५ लाख ९० हजार बजेट नियोजन गरेको कुरा जनाएको छ । यसअघि यस क्षेत्रमा रातको समयमा बत्तीको ब्यवस्था थिएन त्यसैले सडक दुर्घटना हुने, चोरी, डकैती जस्ता आपराधिक घटनाहरु बढ्दै गएपछि गाउँपालीकाले सडकमा बत्ती जडान गर्ने निर्णय गरेको हो ।