काठमाडौं। बुढीगण्डकी जलविद्युत आयोजनाबाट विस्थापित हुने गोरखाका कुमाल समुदायलाई एकै ठाउँमा व्यवस्थापन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष माग गरिएको छ।
नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमाल नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर यस्तो माग राखेको हो।
प्रधानमन्त्रीसँगको भेटमा सहभागी संविधानसभा सदस्य ज्ञानेन्द्र कुमालले जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाबाट सबैभन्दा बढी प्रभावित कुमाल समुदाय हुने भन्दै उनीहरुको रीतिथिति र संस्कृतिलाई जोगाइराख्न कुमाल समुदायलाई एकै ठाउँमा व्यवस्थापन गरिदिनुपर्ने माग राखेको बताए ।
आयोजनाले नै गोरखाका विभिन्न १० स्थानमा कुमाल समुदायलाई स्थानान्तरण गर्ने प्रस्ताव गरेको छ । तर अलग्याएर राख्दा कुमाल समुदाय नयाँ ठाउँमा स्थापित हुन नसक्ने र उनीहरुको पहिचान पनि गुम्ने भएकाले एकै ठाउँमा व्यवस्थापन गरिदिनुपर्ने कुमाल अगुवाहरुको माग छ ।
प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् । सबै अल्पसंख्यक सिमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै प्रचण्डले ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको बताएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।