म्याग्दी। म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा निर्माणधिन ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको हो।
अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन रहेका छन्।
नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलान भइरहेको छ । पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम सुरु गरिएको बताइएको छ।
आयोजनामा हाल पाँच सय जना प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छन् । उक्त दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्दछन् । कठिन भीरपहरा छिचोलेर आयोजनाको निर्माणस्थलसम्म पुग्न सडक निर्माण गरिएको छ।
निजी क्षेत्रको लगानीबाट निर्माण गरिएको यो म्याग्दी जिल्लाकै ठुलो आयोजना हो। करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् ।