सिन्धुली। सिन्धुली अस्पतालको सेवा दुई दिनदेखि अवरुद्ध बनेको छ। सुत्केरी गराउन ल्याइएकी गर्भवती महिलाको मृत्यु भएपछि भएको प्रदर्शनी र तोडफोडका कारण अस्पतालले सेवा दिन नसकेको हो।
कमलामाई नगरपालिका–५, सिलामेकी गङ्गामाया श्रेष्ठ गुरुङको मंगलबार मृत्यु भएको थियो। उनको मृत्यु भएसंगै आक्रोशित भिडले अस्पताल तोडफोड गरेको भन्दै कार्यरत चिकित्सक काममा नफर्किएपछि अस्पतालको सम्पूर्ण सेवा अवरुद्ध बनेको छ।
सोही विषयलाई लिएर बुधबार अस्पतालमा कार्यरत १४ जना चिकित्सकले सामूहिक राजिनामा घोषणा गरेका छन्। उनीहरू बिहीबारसम्म काममा नफर्किएको अस्पतालले जनाएको छ। अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार तोडफोडपछि असुरक्षा महसुस गर्दै उपचारका लागि भर्ना भएका १६ जना बिरामी अहिले सम्पर्कविहीन छन्।
तोडफोडबाट सिन्धुली अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्षलगायतका भौतिक संरचनामा क्षति हुँदा करिब डेढ करोड रुपियाँभन्दा बढीको क्षति भएको अस्पतालले जनाएको छ।