धनगढी । धनगढीमा अत्याधुनिक सुविधासहितको सिटी हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको साढे २८ करोडको लागतमा निर्माण शुरु गरिएको सिटी हल तयार हुन लागेको हो ।
यसको निर्माण कार्य सम्पन्न भई फिनिसिङ कार्य भइरहेको छ । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा डेढ विघा जमिनमा २८ करोड ५५ लाख रुपैयाँ लगानी गरेर सिटी हल बनाइएको छ ।
राष्ट्रिय सभागृहको मोडेलमा बनाइएको सिटी हलमा एउटा मुख्य अडिटोरियम, एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा रिहल्सल हल छ । करिब चार सय गाडी अटाउने अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ ।
संघीय योजना कार्यान्वयन ईकाई धनगढीले निर्माण कार्य सम्पन्न भई फिनिसिङको काम भइरहेको जनाएको छ । ईकाईका ईञ्जिनियर पुजन न्यौपानेले फलसिलिङ लगाउने, रंगरोगन गर्ने, बिजुली–बत्ति जडान गर्ने, तातो–चिसोका लागि एसी तथा हिटर जडान गर्ने, खानेपानी जडान गर्नेलगायतको काम भइरहेको जनाए ।