काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहितको एक टोली कमाउ प्रस्थान गरेको छ।
चौधौं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्चको सम्मेलनमा सहभागी हुन महासंघका अध्यक्षसहितका एक प्रतिनिधिमण्डल मकाउ प्रस्थान गरेको हो।
प्रतिनिधिमण्डल निर्माण व्यवसायीहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरू समेत गरी नौ सदस्यीय रहेको छ । महासंघ अध्यक्ष सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मकाउमा रहँदा अन्तर्राष्ट्रिय स्तरमै निर्माण उद्योगमा देखा परेका समस्याहरू र समाधानका उपाय सहितका छलफलमा सहभागिता जनाउनेछ।
प्रतिनिधिमण्डल नेतृत्वकर्ताको हैसियतमा अध्यक्ष सिंहले सम्मेलनलाई सम्बोधन समेत गर्नेछन्। यस पटकको सम्मेलनमा नारा ‘गोइङ ग्रीन, डिजिटल एण्ड स्मार्ट फाइनानसिङ विन विन कोअपरेशन’ तय गरिएको छ।
चीनका निर्माण व्यवसायीहरूको संगठन र मकाउ व्यापार तथा लगानी प्रवद्र्धन केन्द्रले संयुक्त रुपमा सम्मेलन आयोजना गरेका हुन् ।
तेह्रौं संस्करणसम्म ७० देशका २ हजार भन्दा बढी प्रतिनिधि सम्मेलनमा सहभागी भइसकेका छन् । सम्मेलनमा भाग लिएर नेपाली टोली यही जेठ २० गते स्वदेश फर्कनेछ ।