काठमाडौं। मार्तडी जिल्लाको खप्तड छेडेदह गाउँपालिका २ स्थित जयवागेश्वरी स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि बन्न सकेको छैन। भवन निर्माणका लागि २०७२ साल मङ्सिर १३ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको तर सातवर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको उक्त स्वास्थ्यचौकी कार्यालयले जनाएको छ।
एक करोड ६९ हजार १६ हजार ५३२ मा यमकेदेवी सिंह जेभी धनगढीले सम्झौता गरेर काम सुरु गरेको थियो। काम गर्ने सम्पर्क व्यक्ति भने त्यहाँका स्थानीयवासी बमबहादुर शाही रहेको कार्यालयले जनाएको छ। सम्झौताका बेला २०७४ मङ्सिर १३ गते सम्पन्न गर्ने गरी भएको थियो। तर ठेकेदारको लापरबाहीका कारणले अहिलेसम्म पनि काम सम्पन्न नभएको पाइएको छ।
भवन निर्माण गर्ने ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि बेवास्ता गरेको कार्यालयले जनाएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले तीन पटकसम्म म्याद थप गर्दा पनि काम हुन सकेको छैन। स्वास्थ्यचौकी इन्चार्ज बद्री सुनारका अनुसार भवन निर्माण नहुँदा स्वास्थ्यचौकी जीर्ण भवनमा सञ्चालन भइरहेको छ, पुरानो चुहिने घरमा बिरामीको उपचार भइरहेको र प्रसूति सेवादेखि स्वास्थ्य उपचार सेवा पनि एउटै कोठामा गर्नुपरिरहेको बाध्यता रहेको सुनारले गुनासो गरिन।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भवन अलपत्र रहेको बारेमा प्रशासनमा कुनै जानकारी नआएको बताए। जयवागेश्वरी स्वास्थ्यचौकी साविकको जयवागेश्वरी गाविसको उपचार गर्ने एक मात्र स्वास्थ्यचौकी रहेको छ। यस ठाउँमा उपचारका लागि दैनिक २० जनाभन्दा बढी आउने गरेको स्वास्थ्यचौकीले जनाएको छ।