काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय उद्योगी–व्यवसायीलाई खुला हृदयले नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुल्ला ह्रृदयका साथ नेपालमा लगानीका गर्न आग्रह गरेका हुन्।
उनले भने, ‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ । लगानीमैत्री वातावरण बनाउन र लगानी भित्रयाउन सरकार निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न तयार छ।’
प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको समेत स्पष्ट पारे। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र नेपाल बीचको सम्बन्ध राजनीतिक वा भूराजनीतिक वा आर्थिक मामिलाहरूमा मात्र सीमित नभएको बताए ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी मैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासहरुले अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय रहेको बताए । उनले नेपालमा रहेका भारतीय कम्पनीहरुले राम्रो नाफा आर्जन गरिरहेको दृष्टान्त पेश गर्दै यो सफलताको उदाहरण नै नेपालमा लगानी गर्न प्रर्याप्त आधार रहेको बताए ।