बुटवल। बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा ३ सय शय्यामा स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा थप २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।
जापानको ओकायामामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष डा शिगेरु सुगानामी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, आम्दा नेपालका पूर्वअध्यक्ष डा. ऋषिकेश श्रेष्ठ र आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र बस्यालले आम्दा अस्पताललाई ३ सय शय्यामा स्तरोन्नति गर्ने समझदारीपत्रमा शनिबार हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार आम्दा इन्टरनेशनलले आम्दा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने आम्दा अस्पतालका अध्यक्षसमेत रहेका बुटवल उपमहाननगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
आम्दा अस्पताललाई ३ सय बेडमा स्तरोन्नतिका साथै मेडिकल कलेजका रुपमा स्थापित गर्न आवश्यकताअनुसार प्रक्रिया अगाडि बढाउने गरी समझदारी भएको उनले बताए ।
गत असोजमा आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरू सुगानामीको बुटवल भ्रमणका क्रममा अस्पतालको स्तरोन्नतिका लागि सहमति गर्दै आवश्यकताअनुसार समझदारी गर्ने निर्णय भएको थियो । उक्त निर्णयअनुसार आम्दा अस्पताललाई विशिष्टीकृत सेवासहितको स्तरीय अस्पताल बनाउने समझदारी भएको पाण्डेयले बताए ।
२०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । ५० शय्याबाट सुरु भएको अस्पतालमा हाल १ सय शय्या छन्। कान्तिपुरबाट