काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउन आवश्यक रहेको बताएका छन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले विकासलाई वातावरणमैत्री बनाउन आवश्यक रहेको उल्लेख गरेका हुन्।
उनले भनेका छन्, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ । विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ ।”
यसवर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहँदा प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले प्लास्टिकजन्य फोहोर वातावरणीय चुनौती बन्न पुगेको उनले बताएका हुन् । राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, “मानव जातिको महत्वकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषणको चुनौती बनेको छ।”
राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।