काठमाडौं। वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले पुराना तथा बढी धुवाँ फाल्ने सवारीसाधन विस्थापित गर्न निर्देशन दिएका छन्। विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री महतोले दक्षिण एसियाका मुलुकमा युरो–३ मापदण्डभन्दा माथिका सवारीसाधन चल्ने गरेको उल्लेख गर्दै नेपालमा पनि आयात हुने गरी एक हप्ताभित्र प्रतिवेदन तयार गर्न वातावरण विभागलाई निर्देशन दिएका हुन्।
उनले मानवीय क्रियाकलापका कारण वातावरण प्रदूषण दिनहुँ बढ्दै गएकाले नियन्त्रण गर्न सबैले आफैँबाट सुरुवात गर्नुपर्ने बताएका छन्।
मन्त्री महतोले भने, “नेपालमा अझै पनि युरो–३ मापदण्डका सवारीसाधन किन आयात भइरहेका छन्? मन्त्रालय मातहतका निकायमा वातावरणसम्बन्धी काममा दोहोरोपन हुनु भएन। परिणाम देखिने गरी कार्यदिशा र योजना बनाउनुस् ।”
पूर्वमन्त्री गणेश साहले वातावरणको मुद्दा अब स्वास्थ्यको मुद्दा भएको बताउँदै सबै प्रकारका प्रदूषणमा प्लास्टिकको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गरे। उनले वातावरणसम्बन्धी विद्यमान कानुन परिमार्जन आवश्यक रहेको बताए।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालले मानिसका विभिन्न व्रिmयाकलापका कारण प्रकृति कुरूप बन्दै गएको बताए। वातावरण संरक्षणतर्फ सबै सचेत हुनुपर्ने बताउँदै उनले प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्लास्टिकको पुनः प्रयोगमा जोड दिन आग्रह गरे।
विभागका महानिर्देशक शिवलाल तिवारीले वातावरण प्रदूषण नियन्त्रणका चुनौतीमध्ये प्लास्टिकजन्य प्रदूषण ठुलो चुनौतीका रूपमा रहेको बताए। त्रिभुवन विश्वविद्यालयका प्राडा रेजिना मास्केले प्लास्टिकजन्य प्रदूषण नियन्त्रण र व्यवस्थापनका लागि प्लास्टिकको पुनः प्रयोग गरिनुपर्ने बताए।