काठमाडौं। नेपाल इन्जिनियरिङ कलेजका इन्जिनियर विद्यार्थीले उपयुक्त वातावरण बनेमा नेपालमा भइरहेको पूर्वाधार निर्माण आयोजनाहरूको अवधि उल्लेखनीय रूपमा कम गर्न सक्ने बताएका छन्।
कलेजले प्रिमाभेरा सफ्टवेरको नवीनतम भर्सनको तालिम सकेपछि स्नातकोत्तर अध्ययन केन्द्रमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै विद्यार्थीले आफूहरुले तालिमका सिकेको कुरा सदुपयोग गर्ने वातावरण भए निर्माण क्षेत्रले सकारात्मक गति लिनेगरी काम गर्न सक्ने बताएका हुन्।
कार्यक्रममा दिक्षित विद्यार्थीले तालिमबाट आफूले आर्जन गरेको सिपको अधिकतम सदुपयोग गर्ने वातावरण तयार भएमा नेपालमा भइरहेको पूर्वाधार निर्माण आयोजनाहरूको अवधि उल्लेखनीय रूपमा कम गर्न सकिने विश्वास दिलाए । त्यसो गर्न सकिए देशको निर्माण क्षेत्रले ठूलो समारात्मक गति लिने अभिव्यक्ति उनीहरुले दिएका थिए ।
कलेजको स्नातकोत्तर अध्ययन कार्यक्रमका निर्देशक तथा पेशागत इन्जिनियर प्रा.डा तुसिताचाँदनी शाहीले आफूले प्राप्त गरेको सिपको सदुपयोग गरी पूर्वाधार विकासको निर्माण व्यवस्थापनमा भइरहेको कमजोरी न्यूनिकरण गर्न दिक्षित विद्यार्थीलाई सुझाए । विज्ञ इन्जिनियर सरोज धिमिरेले प्रिमाभेरा सफ्टवेर निर्माण क्षेत्रमा मात्र नभई अरू खालका आयोजनामा पनि प्रयोग हुने जनाए ।
कलेजबाट नियमित पढाई सक्ने वित्तिकै बजारमा सेवा दिन विद्यार्थीलाई तयार गर्ने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेजले यस वर्ष पनि प्रिमाभेरा सफ्टवेरको नवीनतम भर्सनको तालिम विषय विज्ञ इन्जिनियर सरोज धिमिरेको नेतृत्वमा सम्पन्न गरेको छ । कम्तीमा ७० प्रतिशत नियमित हाजिर भएका प्रशिक्षार्थीहरू मात्र दीक्षित हुने यस तालिम कार्यक्रममा यसवर्ष २१ जना प्रशिक्षार्थीहरू दिक्षित भएका छन् ।
मुनाफारहित सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत दर्ता गरी चागुनारायण नगरपालिकाको सार्वजनिक जमिनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज उच्च प्राविधिक शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट रहेको छ । यही हप्ता मात्रै पनि नेपाल इन्जिनियरिङ परिषद्ले कलेजले लामो समयदेखि पाइरहेको स्थायी स्वीकृतिलाई निरन्तरता दिएको थियो ।