हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौंडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन् ।
काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरीक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरीक्षणमा निस्केका हुन् ।
हेटौंडा अस्पतालको आकस्मिक निरीक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिए।
अस्पतालमा उपचाररत बिरामीसँग पनि मन्त्री बस्नेतले कुराकानी गरे। निरीक्षणपछि मन्त्री बस्नेतले देश भरिका अस्पतालले १० प्रतिशत सैय्या विपन्नका लागि छुट्याएर नि:शुल्क उपचार गर्नु पर्नेमा जोड दिएका छन्। देशका अधिकांश सरकारी अस्पतालले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृतिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय नगरि नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए । उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ ।’
जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउँदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफूपछि नपर्ने दावी गरे । कार्यक्रममा हेटौंडा अस्पतालका निर्देशक सहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी गराए।
त्यसैगरि मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरिक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका विषयमा जानकारी लिएका छन्। सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका विषयमा जानकारी गराए ।