झापा। बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन निर्माण गरिने भएको छ। १५ करोड लागतमा निर्माण गर्न लागिएको भवनको जिम्मा विभाष इन्टरनेशनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले पाएको छ।
नगर अस्पतालको स्तरोन्नतीका लागि निर्माण गर्न लागिएको भवनको बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईँले शिलान्यास गरेकी हुन्।
हाल सञ्चालनमा रहेको नगर अस्पताल परिसरमै सुविधासम्पन्न तीनतले नयाँ भवन बनाइने छ। भवन २०८१ फागुनभित्र निर्माण गरिसक्नुपर्ने छ । भवन निर्माणपछि बिर्तामोड नगर अस्पताल १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति हुनेछ ।
यसअघि साढे पाँच करोडको लागतमा १५ शय्याको भवन निर्माण गरिएको थियो । नगर अस्पतालमा हाल चार चिकित्सक कार्यरत छन् । यहाँबाट दैनिक दुई सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।