स्याङ्जा। जिल्लाको कालीगण्डकी गाउँपालिकाको भवन निर्माण कार्य सम्पन्न भएको छ। कालीगण्डकी गाउँपालिका–४ को बिर्घामा बनेको भवनको सम्पूर्ण काम पूरा भएको हो।
नवनिर्मित भवन उद्घाटन गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार कालीगण्डकी गाउँपालिका स्याङ्जा पुग्ने भएका छन्।
आज दिउँसो १ बजे पूर्वप्रधानमन्त्री ओलीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।
निर्माण कार्य सम्पन्न भएसँगै अब चाँडै गाउँपालिकाले नयाँ भवनबाट सेवा दिने भएको छ। भवन ७ करोड ३५ लाख लागतमा निर्माण गरेको पालिकाले जनाएको छ।
कालीगण्डकी गाउँपालिकाले यसअघि स्वास्थ्य कार्यालयको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको थियो। स्थानीय १६ जनाले २६ रोपनी एक आना जग्गा उपलब्ध गराएको र सोही जग्गामा सुविधासम्पन्न भवन निर्माण गरेको पालिकाले जनाएको छ।