काठमाडौं। निजी तथा ऊर्जा उत्पादकहरूले अध्ययन पुरा गरेका ३६७ मेगावाटका ८ जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएका छन् । देशको विभिन्न ठाउँमा पहिचान भई अध्ययन पुरा भएका उक्त आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका हुन् ।
विभागका अनुसार ४ मेगावाट देखि २७० मेगावासम्मको ८ जलविद्युत आयोजनाले अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिनेमध्ये सबैभन्दा ठुलो २७० मेगावाटको भेरी–१ जलविद्युत आयोजना रहेको छ । गेजुवा ग्रूप पावर इन्भेष्टमेन्ट नेपालले अध्ययन पुरा गरेको आयोजनाले २०८० जेठ १४ गते उत्पादन अनुमतिका लागि दिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, अप्पर अरुण हाइड्रो इलेक्ट्रीक लिमिटेडले अध्ययन पुरा गरेको ४० मेगावाटको इखुवा खोला जलविद्युत आयोजनाले पनि अनुमति आवेदन दिएको छ । यो आयोजनाले बैशाख ५ गते उत्पादन आवेदन दिएको थियो । साथै, १३।५ मेगावाटको सिसुवा खोलाले बैशाख १२ गते , त्रिशूली क्यास्केड पावर लिमिटेडले अध्ययन पुरा गरेका २४।६ मेगावाटको माथिल्लो त्रिशूली–१ क्यास्केडले जेठ ७ गते उत्पादन अनुमति माग गर्दै विभागमा पुगेका छन् ।
४.१ मेगावाटको माथिल्लो मोस्ट इवा खोला, ४।६ मेगावाटको सुपर मस्ट इवा खोला, ४।९५० मेगावाटको माथिल्लो मेलम्ची र ४।९६० मेगावाटको तल्लो मेलम्ची जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएको विभागले जनाएको छ । उर्जा खबरबाट