रुपन्देही। तिलोत्तमा नगरपालिका १७ दरखसवामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ निर्माण गरिने भएको छ। गुल्मी जन्मथलो रहेका विनोद कुँवरले एकल लगानीमा निर्माण गर्न लागेको मैदानको सोमबार शिलान्यास गरिएको हो।
विनोद कुँवरले ४० करोड लगानीमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सोमबार एक समारोहकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वर देव चौधरी, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व सचिव प्रशान्तविक्रम मल्ल, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन लगायतले संयुक्त रुपमा शिलान्यास गरेका छन्।
पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको बताइएको छ। आफूलाई क्रिकेटमा अति नै मोह भएका कारण जग्गा खरिद गरेर मैदान निर्माण गर्न लागेको विनोदले बताएका छन्। शिलान्यास कार्यक्रममा उनले मैदानसहित अन्य स्थानमा अस्पताल र आइटी कलेज समेत निर्माण गर्ने प्रतिबद्धता जनाए।