झापा। झापास्थित इलाका प्रहरी कार्यालय कुमरखोद र घैलाडुब्बाको कार्यालय भवन निर्माण सम्पन्न भएको छ। नवनिर्मित दुइवटै कार्यालय भवनको सोमबार उद्घाटन गरिएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजेशनाथ बास्तोलाले सोमबार छुट्टाछुट्टै कार्यक्रमका बीच दुवै नवनिर्मित प्रहरी कार्यालय भवनको उद्घाटन गरे।
डीआइजी बास्तोलाले शिलालेख अनावरण गरी उद्घाटन गरेसँगै दुवै नयाँ भवन सञ्चालनमा आएका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डीआइजी बास्तोलाले नयाँ भवन उपलब्ध भएसँगै कार्यरत प्रहरी कर्मचारीमा थप मनोबल वृद्धि हुनुका साथै आम नागरिकलाई प्रदान गरिने प्रहरी सेवासमेत स्तरीय हुने बताए।
साथै कानुनको परिधिमा रही जनचाहना बमोजिम प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीलाई डीआइजी बास्तोलाले निर्देशन समेत दिए। कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट झापा गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय कुमरखोद र इलाका प्रहरी कार्यालय घैलाडुब्बाको भवन निर्माण भएको हो।
दुवै भवनको ठेक्का टक्सार निर्माण सेवा प्रालि काठमाडौंले लिएको थियो। टक्सारले कुमरखोदको ठेक्का २ करोड ३५ लाख र घैलाडुब्बाको ठेक्का २ करोड ३३ लाखमा लिएको थियो।