रुपन्देही। लुम्बिनी प्रदेशमा ल्याइएका पाँच विद्युतीय बस र १४ भ्यान अझै सञ्चालनमा आउन सकेको छैन। लुम्बिनी प्रदेश सरकारले गत वैशाख ८ गते लुम्बिनी विकास कोषलाई प्राप्त विद्युतीय सवारी साधनलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान स्वीकृति गर्ने निर्णय गरेपनि प्रक्रिया अघि बढ्न नसकेको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो।
यातायात व्यवस्था कार्यालय लुम्बिनीले सङ्घ र प्रदेशमा यससम्बन्धी कानुन नभएकाले सवारी दर्ता रोकेको छ। प्रदेश सरकारको निर्णयअनुसार प्रक्रिया पूरा गरी दर्ता प्रक्रियामा गए पनि यातायात कार्यालयबाट काम हुन नसकेको लुम्बिनी विकास कोषको भनाइ छ ।
मन्त्रिपरिषदले निर्णय गरेपनि ऐन र कार्यविधि नहुँदा सञ्चालन गर्न समस्या भएको यातायात व्यवस्था कार्यालय लुम्बिनीले जनाएको छ। सङ्घ र प्रदेशमा सरकारी सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गर्नेसम्बन्धी ऐन र कार्यविधि नहुँदा प्रक्रिया अघि बढाउन नसकेकाले सङ्घीय सरकारको रायका लागि पत्राचार गरेको बताइएको छ।