पोखरा। पोखरा महानगरपालिकाले फेवातालको सिरानतर्फ सिमसार पुरेर बनाइएको प्लटिङ डोजर लगाएर भत्काएको छ। मेयर धनराज आचार्यले सोमबार प्लटिङ भत्काउन नगर प्रहरीलाई निर्देशन दिएसँगै प्लटिङमा डोजर लगाइएको हो।
यसअघि सिमसार क्षेत्र पुरेर धमाधाम प्लटिङ भइरहँदा समेत महानगरले कुनै कारबाही गर्न नसकेको भन्दै आलोचना र विरोध भइरहेको थियो।
रामसार क्षेत्रमा सुचीकृत फेवातालको सिमसार क्षेत्रलाई जग्गा वर्गीकरण गर्दा आवास क्षेत्रमा राखेर पुर्न अनुमति दिएको समाचार आएपछि सरकारी अधिकारीहरू सिमसारको अनुगमनमा निस्किएका थिए।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा गएको अनुमगनले पनि सिमसार क्षेत्र मास्ने गरी धमाधम पुरेर प्लटिङ गरेको भन्दै अनधिकृत कार्य तत्काल रोक्ने निर्णय गरेको थियो।