काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–बंगलादेश प्रशारणलाई सम्झौताले सहकार्य र विकासमा अर्को कोसेढुङ्गा थप्ने बताएका छन्। बिहीबार बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीसँगको भेटमा गृहमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबीचको सधैँको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोसेढुङ्गा थप्ने बताएका हुन्।
भेटमा राजदूत चौधरीले पनि द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत् प्रसारण लाइन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। यस विषयमा निकै नै फलदायी छलफल भएको र दुई देशको व्यापार मन्त्रालयले समेत व्यापार सहजीकरण सम्बन्धमा काम गरिरहेको राजदूत चौधरीले बताए।
बिहीबार नै गृहमन्त्री श्रेष्ठले नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग पनि भेट गरेका छन्। भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अस्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताका लागि विशेष धन्यवाद दिए।
राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसका लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अस्ट्रेलियाबाट साथ र समन्वयको अपेक्षा गरेको उनले बताए। खास गरी ऊर्जा र कृषिमा वैदेशिक लगानी आवश्यक भएको उनको भनाइ छ।
राजदूत भोल्कले नेपाल जस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूहरूलाई खुसी लागेको र भर्खरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसँग पनि साझेदारी बढाउन सहकार्य भइरहेको बताए।