काठमाडौं। दोभान हाइड्रोपावर लिमिटेडले करिब २३ करोडको प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ।
कम्पनीले जारी पुँजीको ३० प्रतिशत २२ करोड ८० लाख रकम बराबरको २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो।
कम्पनीको जारी पुँजी ७६ करोड रहेको छ। कम्पनीले सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली, सर्वसाधारण र कर्मचारीहरुका लागि निष्कासन गर्ने छ।
कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बुधबार सानिमा क्यापिटललाई नियुक्त गरेको छ।
दोभान हाइड्रोपावरले सोलुखुम्बुको जुनवेशी खोलाबाट ५.२ मेगावाट क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। सोही आयोजना निर्माणका लागि कम्पनीले साधारण सेयर निष्कासन गर्न लागेको हो।
यस आयोजनाबाट उत्पादन हुने विद्युतलाई नेपाल विद्युत प्राधिकरणको १३२ केभि तिङ्गा लामाने सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको कम्पनीले जनाएको छ।