काठमाडौं। नयाँ बसपार्कभित्र ५६ वटा नयाँ टिकट काउण्डर थपिएका छन्। काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्क भित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो ।
यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो ।
काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको छ।
महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जिप नयाँ बसपार्क भित्रबाट सञ्चालन भएका छन् । माइक्रोबस तथा जिपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ ।
नयाँ बसपार्क भित्रबाट माइक्रोबस तथा जिपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले ५६ नयाँ टिकट काउण्टर थप गरेको छ ।