काठमाडौँ। दया फाउण्डेसनद्वारा सहयोग प्रदान गर्दै आइरहेको काठमाडौँ लगनस्थित सरकारी विद्यालय आजाद आधारभूत विद्यालयको रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले कक्षा कोठाहरुको निर्माण सम्पन्न गरेको छ। रोटरी भूकम्प राहत कार्यक्रमअन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराजलगायत फर्निचरहरु समेत उपलब्ध गराएको हो।
दया फाउण्डेसनका पूर्वअध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का सहायक गभर्नर नीभा माथेमा प्रधान, दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधान र रोटरी क्लव अफ काठमाडौँ मिड टाउनका अध्यक्ष प्रमोद पौडेलले एक कार्यक्रमबीच विद्यालय व्यवस्थापनलाई नवनिर्मित कक्षा कोठासँगै डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचर हस्तान्तरण गरेका छन्।
उक्त अवसरमा दया फाउण्डेसनका अध्यक्ष राजेश प्रधानले विद्यालयको गुणस्तरीय शिक्षाको लागि फाउन्डेसनले सहयोग पु¥याइरहेको बताए। सो आयोजना सन् २०१९ मै सुरु गरिएको भए तापनि कोभिड १९ महामारीका कारण निर्माण कार्य प्रभावित भएको रोटरी डिस्ट्रिक्ट ३२९२ का सहायक गभर्नर प्रधानले बताइन्। यो आयोजना सम्पन्न भएसँगै विद्यालयका लगभग एक सय बालबालिका लाभान्वित हुने विश्वास गरिएको छ।