बागलुङ। निसीखोला गाउँपालिकाको वडा नम्बर ४ को झिम्पामा पालिकास्तरीय आधारभूत अस्पताल निर्माण गरिदैँ छ। सो अस्पताल गाउँपालिकाले निर्माण गरिरहेको हो।
गत वर्षदेखि वडा नम्बर ४ को झिम्पामा अस्पताल निर्माण भइरहेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि स्थानीयमा खुसी छाएको छ । लामो समयदेखि सामान्य रोगको उपचार गर्न घण्टौँ टाढा पुग्दै आएका स्थानीयमा अब घरै अगाडि उपचार गराउन पाउने विश्वास लिएका छन्।
अस्पताल गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्ने छ। झिम्पा गाउँको फेँदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा भएपछि निसीखोलाका हजारौँ नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुनेछ।
केन्द्र सरकारको सहयोगमा यहाँ आधारभूत अस्पताल बन्न लागेको गाउँपालिकाले जनाएको छ। अस्पताल आगामी २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो। गाउँपालिकाले रु १० करोड ९४ लाखको ‘स्टिमेट’ गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएर काम तीव्र गतिमा गरिरहेको गाउँपाकिाको भनाइ छ।
‘भवन निर्माणका लागि गाउँपालिकाले दुई वर्ष अगाडिनै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो। अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । स्थानीय दुर्गबहादुर सुनारलगायतका दाताले अस्पताल निर्माण लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्षनै अस्पतालको शिलान्यास गरेको थियो।
हालसम्म अस्पतालको ८६ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले बताएको छ।