रसुवा। रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण कार्य हालसम्म ४५ प्रतिशत काम पूरा भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गरिरहेको बन्दरगाहको काम करिब आधा हुन लागेको हो।
दुई अर्ब १६ करोड लागतमा तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको बन्दरगाहको काम कोरोना सङ्क्रमणका कारण लामो समयसम्म रोकिएको थियो। अहिले भने नियमित रुपमा काम भइरहेको समितिले जनाएको छ।
सन् २०२५ सम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको बताइएको छ।
भन्सार पास हुन आएका सवारीसाधन महिनौँसम्म बन्दरगाहमा पार्किङ गरेर राख्दा निर्माण कार्यमा समस्या हुने गरेको निर्माण कम्पनीले जनाएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले उत्तरी नाका रसुवामा निर्माण हुन लागेको बन्दरगाहले आयात निर्यातलाई सहज बनाउने जानाएको छ।
बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन्। बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ। त्यस्तै कार्गो गोदाम र दुई वटा भवन निर्माण गर्ने योजना छ। समितिका अनुसार बन्दरगाहमा एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षासमेतका निकाय रहने छन्।