काठमाडौं। अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको पहिलो चरणको आईपीओ निष्काशन भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ जारी गरेको हो।
कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजारको १० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार ४०० बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि निष्काशन गरेको छ।
आयोजना प्रभावित स्थानीयका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ५४ हजार ९०२ कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका ३ का बासिन्दाको लागि र ५० प्रतिशत उक्त क्षेत्र बाहेकका सम्पूर्ण दैलेख जिल्लाबासीहरूका लागि विक्री गर्न लागेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने दोस्रो चरणमा विक्री गरिने सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ विक्री गर्न लागिएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिनेछ । आयोजना प्रभावित स्थानीय वासिन्दामा छिटोमा असार २१ गतेसम्म विक्री अवधि तोकिएको छ ।