तनहुँ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले ग्रामीण सडक सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ। ट्राफिक कार्यालयले ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम’ सञ्चालन गरेको हो।
सहरी क्षेत्रमा चल्ने सवारीले कागजपत्र तथा सवारी ठिक अवस्थामा राख्ने गरेको भएपनि ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नरहँदा त्यसमा लापरबाही गरिएको हुनसक्ने भएकोले दुर्घटना न्यूनिकरण गर्न यो अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जिल्लामा दुर्घटना न्यूनिकरण तथा सडक सचेतना सम्बन्धी ज्ञान वृद्धिका लागि आफूहरूले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेर सूचित गराउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताए।
असार ५ गते देखि ११ गतेसम्म, साउनको सातदेखि १३ गते सम्म र भदौको १० गतेदेखि १६ गतेसम्म कार्यक्रम सञ्चालन हुने छ । ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक÷सवारी सुरक्षा थप मजबुत हुने, जनधनको क्षति न्यूनिकरण हुने, ट्राफिक प्रहरी र सवारी चालक(परिचालकहरूमा मित्रवत् भावनाको विकास हुने, ग्रामीण सडक सुरक्षा प्रभावकारी हुने लगायतका प्रतिफलहरू कार्यक्रमबाट प्राप्त हुने ट्राफिक प्रहरीको विश्वास छ ।