काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जा प्रयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन्।
राष्ट्रपति भण्डारीले काठमाडौंलाई नमुनायोग्य बनाउन विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छिन्। पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भार कम गर्न, वायु प्रदूषण कम गरी स्वच्छ र सफा काठमाडौं बनाउन पनि विद्युतीय सवारीसाधनको प्रयोग अत्यावश्यक भएको उनले स्पष्ट पारेकी हुन्।
शनिबार काठमाडौंको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्धघाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरताका निम्ति काठमाडौं उपत्यकालाई नमुनायोग्य बनाउन स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराएकी हुन्। राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदूषण कम गर्न इँटाभट्टामा पनि विद्युतीय ऊर्जाको उपयोग गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन्। साथै उनले सिमेन्ट उद्योगहरूमा विद्युतीय ऊर्जा प्रयोग गरी नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने जनाएकी छिन्।
राष्ट्रपति भण्डारीले त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको चपेटाबाट मुलुकलाई जोगाउन सम्पदा परिचालन गर्न आवश्यक रहेको बताएकी छिन्। त्यसैगरी मेयर शाक्यले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदा संरक्षणको कामलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको पनि जानकारी गराएका छन्।