महोत्तरी। महोत्तरीको एकडारा गाउँपालिकामा निर्मित राप्रपाका नेता पूर्व मन्त्री एवंम उपसभामुख स्वर्गीय रामबिलास यादबको शालिकको अनावरण गरिएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले यादवको शालिक अनावरण गरेका हुन्।
शालिक अनावरणका क्रममा अध्यक्ष थापाले स्वर्गिय रामबिलास यादव राष्ट्रवादी, विकासप्रेमी र सदैव मधेसी जनताको हितमा कृयाशिल व्यक्ति भएको बताए। थापाले ०६२र६३ को परिवर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, धर्मसंस्कृती र पहिचान मेटिएको, विधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रुपमा बढेको आरोप लगाए।
उनले निष्ठा, इमानदारी र आदर्शको राजनिती कमजोर भएको भन्दै केहि सिमीत दलका सिमित नेताहरुको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको समेत दाबी गरे ।
ठुला ठुला भ्रष्टाचार काण्डमा आफुलाई ठुला भन्ने ठुला राजनीति दलका नेताहरुको संलग्नता भएको भन्दै थापाले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि कानुनलाई समेत हातमा लिने दुश्प्रयास भैरहेको समेत बताए । लोकतन्त्रको आबरणमा देशमा लुटतन्त्र मच्चाईएको भन्दै थापाले राजा, हिन्दु राष्ट्र ,एकात्मक राज्य प्रणाली अन्त्य पछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरुले आज मुलुकलाई कहाँ पुर्याए भन्ने प्रश्न समेत थापाले गरे ।