काठमाडौं। काठमाडौं महानगरपालिका भित्र निर्माण कार्य गर्दा सडकमा निर्माण सामाग्री राख्न पाइने भएको छ। आर्थिक ऐन २०८० अनुसार काठमाडौं महानगरको स्वीकृति लिएर सडकमा निर्माण सामाग्री राख्न पाइने प्रावधान ल्याइएको हो।
महानगरपालिकाले भवन निर्माण गर्दा सार्वजनिक आवागमनमा बाधा नपर्ने गरी निर्माण सामग्रीको व्यवस्थापन गर्नुपर्ने बताएको छ। निर्माण सामाग्री व्यवस्थापन गर्न अन्य विकल्प नभएमा भवनको भुँई तल्लासम्म निर्माण गर्न आवश्यक पर्ने निमार्ण सामग्री सार्वजनिक आवागमनमा असर नगर्ने गरी राख्नका लागि सम्बन्धित वडा कार्यालयबाट अग्रीम लिखित स्वीकृति लिनुपर्ने भएको छ।
वडा कार्यालयबाट प्रदान गरिएको समयसीमा भित्र निर्माण सामाग्री उठाई नलगेमा सम्बन्धित घरधनीलाई वडा कार्यालयले दैनिक ५ हजारका दरले जरिवाना गरी त्यस्ता सामान समेत जफत गर्ने आर्थिक ऐनमा उल्लेख छ ।