काठमाडौं। ललिता निवास प्रकरणको फाइल खोलिएको छ ।
गठबन्धन सरकारमा समस्या आईरहेको बताईरहेको बेला ललिता निवास प्रकरणको फाइल खोलिएको हो ।
फाइल खोलेसँगै अहिलेसम्म छ जना पक्राउ परिसकेका छन् ।जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको छ ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।
उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ । सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ ।